घर फर्किरहेको परदेशी
खरको चुहिने छानो
भान्सा कोठा बारेर
माटोको थोत्रो घरमा
तिमी र मैले
सुहागरात मनाएको पनि
आज ठ्याक्कै बाह्र बर्ष पुगेछ !
@
स्वर्गकी अप्सरा जस्तै
चाँदनी स्वरुप लिएर
मेरो झुपडीमा
प्रवेश गर्दाको बखत
कम्ता हैसिएको थिएन
म खुब पागल भएको थिएँ
र खुशीले रातभर निदाउन पनि सकिन !
@
काँस झैं फुलेका बा
सौच जाँदै गर्दा
संघारमै नै लडेर
आधा हर नचल्ने भएको छ !
मलाई खुब मन पर्ने
मासु चपाएर खुलाउने
सबै दाँत फुक्लेर
थोते भएकी मेरी आमा
बर्सौ भएको छ
धोती पनि नफेरेको
र
तिम्रो
घाँटीको मंगलसुत्र
लगाउँदाकै भोलिपल्ट
निकालेर बुझाएपछि साँहुलाई
तिमी अधर सुकाएर
नजर झुकाए
क्वा क्वा रुदैँ
कोठा भित्र पसेकी थियौं !
म आफुलाई त्यतिबेला
जीउँदो लास महशुस गरेको थिए
र
हानिएको हुँ परदेश
चुहिने खरको छाना
छाउँला भन्दै
डाँडै माथिका घाम जस्तै: बा
सौच जाँदा लाने लठ्ठी किन्न
बर्सौ सम्म नफेरेको
आमाको पेटिकोट
थोते दाँत भर्नकै लागि
विदेश हानिएको हुँ !
@
ओ प्रियसी “तिम्रो प्रथम ऋतुको
प्रथम वर्षातमा रुझ्न” नपाउदै
म
भालेको डाको सङ्गै
तिमीलाई एकलै छोडेर
चुलेसीमा मुटु रेटेर
स्वयंमबरको औँठी बेचेर
बिहान बेलुका
हात मुख जोड्ने
अभिलाषा बोकेर
मुग्लान भासिएको हुँ
राता चुरा, सिङ्गापुरे सारी
छ्ड्के तिलहरी
लगाए रोधी जाने
तिम्रो ईच्छा पूरा गर्छु भन्दै परदेशीएको पनि
आज ठ्याक्कै बाह्र् बर्ष भएछ !
@
मेरी प्रियसी तिमीलाई थाहा छ नि हगि ??
मानिसलाई समयले फनफनी
नचाएको बेला
दुनियाँ कोरियोग्राफर बन्छ भनेर !
अनि
बाह्र बर्षमा बगेको खोला पनि
फर्किन्छ भनेर ??
यहाँ मालिकको
अत्याचार सहन नसकेर
कयौंपटक
लगाउदै गर्दा
घाटिमा पासो
झल्यास्स सम्झे
तिम्रो चन्द्र्मुखी मुहार
कुमारी मन
फुल जस्तै फक्रेको यौबन
र
बा आमाको अबस्था
अनि कष्ट सङ्ग जुझदै
हिम्मत र हौसला ताजा बनाएर
रित्ताएर जवानी खाडीमा
खाली खाली
मर्नु परे पनि
गाउँमा मरौला प्यारी
फर्किदै छु घरदेश
हो,
हामी भुईमान्छेहरुको
जिउँने आधार भनेको
यहिँ एउटा आशा त रहेछ !
® प्रकाश बिहीन
No comments
Please do not enter any Spam link in the Comments box.