google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> बजारसँग तालमेल मिलेन भने साहित्य मर्छ – कवि हाङयुग अज्ञात - सम्बोधन

Video Of Day

Breaking News

बजारसँग तालमेल मिलेन भने साहित्य मर्छ – कवि हाङयुग अज्ञात

पाँच प्रश्न कवि हाङयुग अज्ञातलाई  
तपाईको लागी साहित्य के हो?
– जीवनको लय र परिवर्तनको आवाज नै मेरो लागि साहित्य हो । तेसो त ग्रिक दार्शनिक प्लेटोले आजभन्दा २६ सय वर्ष अगाडि नै भनेका हुन् – साहित्यलाई जीवन र जगतको अनुकरण हो । साहित्यलाई मनोरञ्जनको साधन मात्रै ठान्ने भूल गर्नु हुँदैन । किनभने साहित्यले नै मानव सभ्यताको विरासत बोक्दै आएको हो । सन् १९६९ मा निर्ल आर्म स्ट्रोङले चन्द्रलोक टेक्यो, साहित्यले के गर्न सक्छ र ? भन्नेहरू पनि हाम्रो समाजमा छन् । तर, उनीहरूलाई थाहा छैन रकेट बनाएर मान्छे चन्द्रलोकमा पुर्‍याउने जुक्ति अमेरिकाले सन् १८६५ मा प्रकाशित जुल्स भर्नेको उपन्यास “अर्थ टु द मुन” नामक उपन्यासबाट प्राप्त गरेको थियो । पूर्वीय साहित्यका महाकाव्य रामायण र महाभारतमा विमानहरू छन्, अहिले विज्ञानले अस्तित्वमा ल्याएका अत्याधुनिक क्षेप्यास्त्रहरू हजारौं वर्ष अगाडि नै हामीले साहित्यमा लेखिसकेका छौं ।

अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?

– एउटा भूल हामीले गरिरहेका छौं । व्यास र वाल्मीकि जस्ता कविहरूले लेखेको साहित्यलाई धर्ममा लगेर गाँसिदियौं । त्यसकारण रामायण र महाभारतभन्दा उत्कृष्ट साहित्य लेख्नु पर्छ भन्ने भावना हामीमा आएन । हामीले मान्दै आएको नेपाली साहित्यको मूल जरा यी दुई महाकाव्यहरूलाई पूजा मात्रै गर्दै आयौं । यसैको सेरोफेरोमा रमाइरह्यौं । त्यसकारण अहिले लेखिदै आएको नेपाली साहित्य चिन्तनहिन शब्दभण्डार मात्रै लाग्छ । तथापि, उत्कृष्ट साहित्य लेख्ने प्रयत्न हुँदै आएको छ । हाम्रा अग्रजहरू जस्तै लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, इन्द्रबहादुर राई, बैरागी काइँलाहरूले साहित्यमा गहिराई दिने प्रयत्न गरेका छन् । उहाँहरूलाई पछ्याउँदै हिँड्ने हो भने नेपाली साहित्यले एउटा विशिष्ट उचाई प्राप्त गर्ने थियो । तर, अहिले साहित्यका नाममा बजारले हस्तक्षेप गर्न थालेको छ । बजारसँग तालमेल मिलेन भने साहित्य मर्छ । अहिले नेपाली साहित्य यस्तो अवस्थामा उभिएको छ ।

साहित्य लेखेर बाच्न सक्ने अबस्था छ छैन ?

– साहित्य लेखेर बाँच्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न नै गलत छ जस्तो लाग्छ । किनभने साहित्य माल होइन, साहित्य कमाल हो । तथापि, अहिले हाम्रो नेपाली साहित्यमा पुस्तकको खोल राम्रो बनाएर बेच्ने चलन आएको रहेछ । त्यसरी बेच्दा अर्थोपार्जन त होला, लेखक बाँच्न त सक्ला । तर, हाम्रो समाज मर्छ । हाम्रो आउने पुस्ता मर्छ । साहित्यका नाममा मनोरञ्जन मात्रै बेचिरहेका छौं कि जस्तो लाग्छ ।

बिश्व साहित्यमा नेपाली साहित्यको स्थान कहाँ नेरी देख्नुहुन्छ ?

– हाम्रा अग्रजहरूले लेखेका पुस्तकहरू अङ्ग्रेजीमा अनुवाद भएर विश्वका पाठकहरूले नपढेसम्म यो प्रश्नको उत्तर दिनु कठीन छ । एक वर्ष अगाडि मैले “नोबेल पुरस्कारको दौडमा नेपाली साहित्य” भन्ने लेख लेखेको थिएँ, त्यहाँ मैले नेपाली साहित्यको अनुवाद गर्न जरुरी छ तब मात्रै नेपाली साहित्यको मूल्याङ्कन हुनसक्छ भनेको थिएँ । एकेडमीले अनुवादमा जोड दिने बेला हो यो ।

लेखकहरुलाई के सल्लाह दिनु हुन्छ ?

– कुनै पनि राजनीतिक पार्टीको झोला नबोकौं । किनभने राजनीतिक पार्टीको झोला बोक्दा पूर्वाग्रही भइन्छ । महासागरजस्तो विचार लिएर बाँच्नु पर्छ लेखकले ।


No comments

Please do not enter any Spam link in the Comments box.