राजीनामा जिन्दगी

जेब्राक्रसिङ हुँदै
बोकेर हिँडेको थिएँ
एउटा राजीनामा पत्र ।
एस्ट्रेमा फ्याँकिएको
सिग्रेटको ठुटा जस्तै
फालेर आएको पनि थिएँ
मैले उसको नियुक्ति पत्र
पत्रसँगै मेरो जिन्दगी ।
प्रेमाभिलाषीहरुसँग लिप्त
नवयौवना जसरी
बन्नै सक्दिनँ एक पतिपरायण
हुनै सक्दिनँ म तिम्रो प्रिय
म आफ्नै चिहानमा
आस्थाको मखमली फूल फुलाउने मान्छे
तिम्रो ओठको सिग्रेट बनेर
पटक पटक सल्किनु छैन मलाई
र फालिनु छैन कर्कश आवाज बनेर
मृत खरानी जस्तै
तिम्रो हृदयको एस्ट्रेमा ।
मेरा लागि
जीवन मृत्यु बनेको बेला
मृत्यु नै अग्नि परीक्षा बनिदियो
थाहा थियो,
तिमीले एक दिन
गुनको बदलामा
बैगुन घोलेर विषकै प्याला पिलाउँछौ
कुरी बस्ने छौ साँघुरो घाट ।
बुझेरै तिम्रो डबल स्टान्डर
जसरी तिमीले नमाग्दै दिएँ
मैले राजीनामा जिन्दगी
तिमीले पनि दिनुपर्छ त्यसै गरी
र चुसिनुपर्छ
एक न एक दिन
त्यही आर्यघाटमा
जसरी समयले चुसेको छ
मान्छेको सिग्रेट ।
No comments
Please do not enter any Spam link in the Comments box.